काठमाडौँ महानगरपालिका–१५ को आयोजनामा फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना हुने भएको छ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै वडाले प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, बिहारसहितका प्राचीन स्मारकहरूको विविधतायुक्त विशेषतालाई पहिचानका रूपमा स्थापित गर्ने र पर्यटकीय सम्भावनालाई प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो।
वडाले उद्यमशीलता र जीविकोपार्जनका लागि तालिम दिएका व्यक्ति तथा सङ्घसंस्थाले उत्पादन गरेका वस्तु तथा सामान, स्थानीय उत्पादनहरू तरकारी तथा फलफूल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन तथा भेषभुषाको प्रवर्धन हुने विश्वास छ।
स्वयम्भूको भुइँखेल चौरमा महोत्सव हुनेछ। भगवान् पाउनको धर्म चक्र पार्कमा प्रदर्शनी र वडा स्तरीय विपद् व्यवस्थापन, खोज उद्धार तथा पुनः स्थापना प्रदर्शनी हुनेछ।
महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ। परम्परागत बाजा, वडावासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिनेछन्। वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले विशेष आकर्षणका रूपमा रहनेछन्।
महोत्सवमा मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन्। रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ) जस्ता क्रियाकलाप महोत्सवका थप आकर्षण हुने छन्। पुर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरू समावेश गरिने छन्।
नेवार समुदायको बाहुल्यता भएको वडामा आर्य, तामाङ, गुरुङ, मगरसहित विभिन्न जातजातिको मिश्रित बसोबास छ।