ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण प्रक्रियाको विपक्षमा रहेको समूहको पदयात्रा सुरु भएको छ। मुक्कुम्लुङ संयुक्त संघर्ष समितिले बिहीबार ‘पाथीभरा केबलकार’ निर्माणको विरोधमा पदयात्रा सुरु गरेको हो।

ताप्लेजुङमा केबलकार निर्माण गर्न नहुने भन्दै समितिले विरोधका कार्यक्रमहरुरू सञ्चालन गरिरहेको छ। केहीअघि ताप्लेजुङको कन्छिथानबाट पदयात्रा सुरु भएको लिम्बूवानका नेता दिलकुमार लावतीले जानकारी दिएका छन्। पदयात्रा काफ्लेपाटी पुगेर विरोधसभामा परिणत हुनेछ। उनले भने, “पदयात्रामा पहिचानवादी नेताहरू सहभागी हुनुहुन्छ।” 

काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको आन्दोलनका कार्यक्रमअन्तर्गत पदयात्रा सुरु गरिएको समितिले जनाएको छ। 

पाथीभरा क्षेत्रमा केबुलकार निर्माण गर्दा मुन्धुमी संस्कृतिमा असर गर्ने र त्यसले पर्यावरणमा समेत नकारात्मक प्रभाव पर्ने भन्दै विरोध भइरहेको छ। माघमा आन्दोलनका क्रममा संघर्षरत पक्षका पाँचजना घाइते भएपछि संघीय सरकारले वार्तासमेत गरेको थियो। 

तर, सहमति हुन नसकेपछि ‘नो केबलकार’ पक्षले पुनः आन्दोलन घोषणा गरेको हो।