प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी नहुने बताएका छन्। 
कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्नुपर्ने बताए। 
उनले भने, ‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ। बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन। तपाईँहरूले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन। तपाईँहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ। आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ। देश र समाजका लागि केही गर्नुस्। नागरिक सर्वोच्चताको गर्व तपाईँहरूमा होस्।’
यस्तै, उनले सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठुलो नहुने बताए।
उनले भने, ‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन। हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस्। साहसी हुनुस्, दुस्साहासी नहुनुस्। हामीसँग उर्वर भूमि छ। यसलाई रूपान्तरणकारी विकासमा लान सकिन्छ। यस काममा विश्वविद्यालय लागोस्। सरकार विश्वविद्यालयको साथमा छ।’
समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गरेका थिए। साथै उनले कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत पनि गरेका थिए।