नेपाल प्रेस युनियनले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयकको विरोध गरेको छ । प्रेस युनियन काठमाडौँ शाखाले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। 
सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ अगाडि बढाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको भन्दै विरोध जनाएको हो। 
युनियनकर्मीले बिहीबार सामाजिक सञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयक विरुद्ध विरोध प्रदर्शन गरेका हुन्। 
विरोध प्रदर्शनमा बोल्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विधेयक पेस गर्नु भनेको आम नागकिकहरुको मौलिक अधिकारलाई कुण्ठित गर्ने काम भएको बताए। 
उनले भने,‘ सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस गरेर आम नागकिकहरुको मौलिक अधिकारलाई कुण्ठित गर्ने काम भएको छ। त्यसको नेपाल प्रेस युनियन घोर भर्सना गर्दछ। तत्काल राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक सञ्जाल विधेयक फिर्ता गरेर सरोकारवालाहरूसँग छलफल गरेर मात्रै त्यो विधेयकलाई पूर्णता दिने गरी राष्ट्रिय सभामा र प्रतिनिधि सभामा पेस गर्नका निम्ति अनुरोध गर्दछु।’
उनले सरकारले विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरूसँग छलफल गरेर पुर्नलेखन नगरे स्वीकार गर्न नसकिने पनि बताए।
‘अब हामी सडकमा आउन बाध्य भएका छौ। विधेयक तत्काल फिर्ता नलिए र सरोकारवालाहरूसँग छलफल गरेर पुन लेखन गरिएन भने विधेयक स्वीकार गर्न सकिँदैन। त्यस कारण हामी मात्र होइन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने, आम सञ्चारको क्षेत्रमा काम गर्ने र नयाँ मिडियामा काम गर्ने सबै साथीहरूलाई आन्दोलनमा सरिक हुन आग्रह गर्दछु। मिडिया काउन्सिल विधेयक पनि संशोधन गर्न जरुरी छ।’
विरोध प्रदर्शन युनियनका काठमाडौँ अध्यक्ष महेश्वर गौतमले सरकारले विधेयकमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजेकाले प्रदर्शनमा उत्रिनु परेको बताए। 
प्रदर्शनकारीले सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गर, नियमनका नाममा नियन्त्रण सहँदैनौं, होसियार ! आलोचना गर्ने अधिकार खोस्न पाइँदैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्न पाइँदैन, अभिव्यक्ति माथिको अङ्कुश, बन्दै छ सरकार निरङ्कुश, मौलिक हकमाथि घात गर्ने विधेयक फिर्ता गरलगायतका प्ले कार्ड बोकेका थिए।