भारतको गुजरातमा आइतबार बिहान तीर्थयात्री सुवार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान सवा चार बजेतिर बस सडकबाट ३५ फुट तल खसेको थियो।
बसमा ४८ यात्रु थिए। तीमध्ये दुई महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको र १७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। अन्य यात्रु सामान्य घाइते छन्।
घाइतेहरुलाई उपचारका लागि अहवास्थित अस्पतालमा भर्ना गरिएको छ।
बस तीर्थयात्रीलाई लिएर गुजरातको द्वारका जाँदै थियो। उनीहरु मध्यप्रदेशका गुना, शिवपुरी र अशोकनगर जिल्लाका थिए।
शनिबार भारत उत्तरप्रदेशको प्रयागराजमा लागेको कुम्भ मेलाबाट फर्किरहेका नेपाली सवार जिप मधुवनीमा दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको थियो।




















