मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन सिंह सवारी दुर्घटनामा परी घाइते भएका छन्।
सिंह सवार गाडी सोमबार बेलुकी जनकपुरमा दुर्घटनामा परेको  हो। मधेस प्रदेश राजधानी समेत रहेको जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह सवार मधेस प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बताए। उनका अनुसार मन्त्री सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेस प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको थियो। 
मन्त्रीको गाडी पिडारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेको अवस्थामा सोही दिशामा आउँदै गरेको अर्को गाडीले  ठक्कर दिएको डिएसपी सिंहले जानकारी दिए। दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। गाडी कसरी ठोक्कियो त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।