पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन्।
सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्तीको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उनले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारिएको बताए।
यस्तै, उनले आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा विधेयक ल्याएको उल्लेख गर्दै यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गरे।
आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्य पहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्त्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उनले ‘दोस्रो पटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताए।
उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगलेअघि बढाउँदा बिचौलिया र भ्रष्टहरूले सरकारबाट हटाएको बताए।
राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उनले गोरखामा समग्र विकासका लागि सक्दो योगदान गर्ने बताए।