मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा बोलेरो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।
चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३८५१ नम्बरको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००२ ह ३६३ नम्बरको अटो एकआपसमा ठोक्किएर बिहान १०ः५० बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा परेर अटोमा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए। उनका अनुसार गम्भीर घाइते भएकी अमृतलाई बुधबारेस्थित सीटी अस्पतालमा भर्ना गरिएको थियो ।त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको थियो।
दुर्घटनामा परेर अटोमा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ, ४१ वर्षीया मञ्जु तामाङ र बोलेरो चालक झापाकै मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार माझी घाइते भएका छन्। घाइते तीनै जनाको सीटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अटो चालक बुद्धशान्ति–४ का ५३ वर्षीय अजय मोक्तान सकुशल छन्। बोलेरो र अटोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी चन्दले बताए।