प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको बताएका छन्।
सोमबार नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने जनाए।
‘हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिरहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छौँ। संयुक्त राष्ट्रसङ्घको वडा पत्र, पञ्चशील र असंलग्नताका सिद्धान्तबाट हामी निर्देशित छौँ। हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छौँ। हाम्रा कोही शत्रु छैनन्, सबै हाम्रा मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छौ।’ उनले भने, ‘भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौँ। उनले भने,‘ राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई हामी सन्तुलितरुपमा सामना गर्न सक्छौँ। छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्णरुपमा आफ्ना जायज कुरा राख्नुपर्छ। जिब्रो लटपट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन। बुझिने गरी संवाद गर्नुपर्छ। त्यसैगरी कुरा गर्दा अर्को पक्षले पनि आफ्नो धारणा बनाउन सहजता महसुस गर्न सक्छ।’
उनले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौँ भन्ने हिनताभाव पाल्नु पर्ने आवश्यकता नरहेको धारणा पनि व्यक्त गरे।
प्रधानमन्त्री ओलीले राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स–साना कुराहरूलाई महत्त्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवार रूपमा आफूलाई प्रस्तुत गर्ने बताए।
प्रधानमन्त्री ओलीले संसद्मा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र सांसदलाई जिउँदो जाग्दो बनाउन सांसदहरूलाई सुझाव दिए।