वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भई काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई रहेकी छिन्।

उनलाई शान्तिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए। उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ।

योसँगै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यही माघ २ गते अपराह्न करिब पौने ४ बजे त्रिपाठीमाथि कुटपिट भएको थियो। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनले काठमाडौं जिल्ला अदालतमा पीडितका तर्फबाट बहस गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध उनी थुनछेक बहसमा सहभागी भएका थिए। आफ्नो बहस सकाएर बाहिरिने क्रममा अदालतबाहिर उनीमाथि कुटपिट भएको थियो।

त्रिपाठीमाथि कुटपिट आरोपमा शनिबार प्रहरीले हुम्लाको अदानचुली गाउँपालिका–४ का ३२ वर्षीय महेन्द्र पाण्डे भनिने महानन्द जैसीलाई पक्राउ गरेको थियो। सोही आरोपमा शुक्रबार प्रहरीले दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको थियो।