विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल, नेपालमा विपद् व्यवस्थापन प्रयोजनका लागि तालिमप्राप्त ५३ औँ टोली तयार भएको छ। सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा विपद् व्यवस्थापन सम्बन्धी तालिमको आइतबार समापन गरियो।
बरमझियामा अवस्थित शिक्षालयको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा वि.सं. ५३ विपद् व्यवस्थापन तालिमको समापन गरिएको छ। समापन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कन्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता र हनुमान नगर नगरपालिकाका प्रमुख वीरेन्द्र माझीको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रशिक्षार्थीहरुले भूकम्प र आगलागीको समयमा गरिने उद्धारको साथसाथै खोँचमा फसेका व्यक्तिको उद्धार, ¥याप्लिङ क्लाइम्बिङ्ग, प्राथमिक उपचारलगायत तालिममा सिकेका विषयहरूसँग सम्बन्धित कृतिम अभ्यासहरूको प्रदर्शन गरेका थिए। समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालमा उपलब्ध विपद् व्यवस्थापनसँग सम्बन्धित उद्धार सामाग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो।
Photo (3) 105११ हप्ता अवधिको उक्त तालिममा ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरू सहभागी भएको र प्रशिक्षार्थीहरूलाई प्राथमिक उपचार, भत्किएका संरचनामा खोज तथा उद्धार, शव व्यवस्थापन, फायर फाइटिङ्, रोप रेस्क्यु, हवाई तथा सडक दुर्घटना, जलोत्पन्न प्रकोप उद्धार, विपद् पछिको उद्धार, राहत र पुनर्स्थापना लगायतका विषयहरुमा प्रशिक्षण गराइएको शिक्षालयले जनाएको छ। 
समापन कार्यक्रममा तालिममा उत्कृष्ट हुने सशस्त्र प्रहरी नायव उपरीक्षक  शीतल श्रेष्ठ पुरस्कृत भएका थिए भने सफल प्रशिक्षार्थीहरूलाई विपद् उद्धारकको परिचय झल्किने कुम चिन्ह प्रदान गरिएको थियो। 
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै कार्य सम्पादन गर्दै आएको र प्रकोप र उद्धार भन्ने बित्तिकै सशस्त्र प्रहरी बल,नेपालको नाम जनमनमा बस्दै गएको बताए।
धौवजीले तालिममा दीक्षित प्रशिक्षार्थीहरूलाई विपद्को समयमा उत्कृष्ट ढङ्गले कार्य सम्पादन गर्न निर्देशन समेत दिए। कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले स्थानीय निकायहरूसँग विपद् सम्बन्धी जनचेतना जगाउने, उद्धार तथा पुनर्स्थापनाको कार्यमा सशस्त्र प्रहरी बलले उत्कृष्ट ढङ्गले समन्वय गर्दै आएको बताए।
Photo5 1हनुमान नगर नगरपालिका प्रमुख वीरेन्द्र माझीले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले गर्दै आएको कार्यहरूको प्रशंसा गरे। तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले शिक्षालयमा पहिलो पटक सञ्चालन भएको विपद् व्यवस्थापन तालिमबाट विपद् व्यवस्थापनमा खटिने विशिष्ट जनशक्ति तयार गरिएको र भविष्यमा उनीहरूबाट उत्कृष्ट सेवा प्रवाह हुने बताए। कार्कीले विपद् व्यवस्थापन तालिमकै लागि शिक्षालय प्राङ्गणमा ३० फिट अग्लो ¥याप्लिङ् क्लाईम्बिङ्ग टावर निर्माण गरिएको जानकारी गराए।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय, सशस्त्र प्रहरी बल, नेपालका कार्यालयका प्रमुखहरू, स्थानीय निकायका प्रतिनिधिहरू, शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।