जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन्।
सिरहाको लहानमा रहेको महतो सालिकमा माल्यार्पण गर्न अध्यक्ष यादव शनिवार बिहान त्यहाँ पुगेका हुन्।
उनले मधेस आन्दोलनका कारण मधेसमा सङ्घीयता स्थापना भएको दाबी गरेका छन्। मधेस आन्दोलनको क्रममा महतो सहित सङ्घीयता, पहिचान, समावेशीकरण लगायत अधिकार प्राप्तिको लागि आन्दोलनमा आफ्नो बलिदानी दिएको उनले उल्लेख गरेका छन्। माघ ५ गतेका दिन मधेस सरकारले मधेस आन्दोलनको बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ।
बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले सहिदहरूको सम्मानमा विभिन्न कार्यक्रम गर्ने भएको हो। मधेस सरकारले सहिदहरूको परिवारलाई अभिनन्दनका साथै सहिदहरूको सम्मानमा एक लाख बढी दीप बाल्ने कार्यक्रम रहेको मधेस सरकारका गृह सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए।
जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा साँझ दीप बाल्ने उनले बताए। मधेस प्रदेशका जिल्लामा शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम हुने जनाइएको छ।