प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरूमा कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त भइरहेका छन्। ओली भरसक कार्यक्रम छुटाउँदैनन्। 
पछिल्लो हप्ता ओलीले एकै दिन चार वटासम्म कार्यक्रममा सम्बोधन गर्न भ्याए। भेटघाट, सार्वजनिक मन्चमा भाषण र आफ्नो दल एमालेका बैठकहरूमा उनको समय व्यथित भइरहेको छ। 
कहिले पूर्व त कहिले पश्चिमका जिल्लामा पुगेर सम्बोधन, उद्घाटन, शिलान्यासमा समय कटाइरहेका उनको पछिल्लो उद्घाटन, भाषण र एक अर्कालाई घोचपेच गर्नमै व्यस्त भएको तालिकाले स्पष्ट पार्छ। 
हप्ताको पहिलो दिन आइतबार पुस २८ गते ओली विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकमा सहभागी भए। जहाँ उनले पुनः निर्माण र पुनः स्थापनाको प्राथमिकता र स्रोतको उपलब्धताका आधारमा बिलम्ब नगरी क्षतिको विस्तृत यथार्थ मूल्याङ्कन गरेर दोहोरपन नहुने गरी पुनः निर्माण कार्यारम्भ गर्न निर्देशन दिए। 
ओलीले पुस २९ गते नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवासमै बोलाएर बधाई तथा शुभकामना दिए। जहाँ उनले कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ भन्दै भाषण गर्न पछि हटेनन्।
यसैगरी, माघ १ गते ओली सार्वजनिक कार्यक्रममा देखिएनन्। उनले सामाजिक सञ्जालबाटै माघे सङ्क्रान्तिको शुभकामना प्रदान गरे। यसैगरी सोही दिन उनले दशौँ राष्ट्रिय योग दिवसका अवसरमा पनि शुभकामना सन्देश व्यक्त गरे।
यसैगरी माघ २ गते उनी अत्यन्तै व्यस्त रहे। सो दिन ओलीले नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको धन्यवाद कार्यक्रममा सहभागी भए। जहाँ उनले गर्नुपर्ने आयात भन्दा पनि नगर्नुपर्ने आयात बढी गरिरहेको बताए। उनले  देशलाई उत्पादन केन्द्रको रूपमा परिणत गर्नुपर्ने समेत बताए। 
यसैगरी, सोही दिन नै प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय ब्राण्डको मक्र्योर होटल उद्घाटन गरे। काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रिय स्तर ब्राण्डको उक्त होटलको उनले उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन होटलले योगदान दिने विश्वास व्यक्त गरे।
उनले होटल व्यवसायमा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण हामी गर्ने छौँ भन्दै आश्वासन दिएर अर्को कार्यक्रमका लागि दौडिए।
माघ २ गते नै ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भए। उक्त पत्रकार सम्मेलनमा अध्यादेश सम्बन्धी छलफल भएको  थियो।
जहाँ उनले सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो भन्दै प्रश्नको उत्तर दिन कुनै सङ्कोच मानेनन्। साथै उनले सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफैँ टिकिहाल्छ भन्दै घुमाउरो शैलीमा जवाफ दिन उत्तिकै हतार गरे।
उनले भने,‘हामी सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफै टिकिहाल्छ। यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो। यी अध्यादेश यस रुपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्त रुपमा प्रकट भएको छ। यो पूर्ण सहमतिमा अध्यादेश आएको छ । अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइयो । भूमिसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन। अध्यादेशको विरोध भयो भनेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आयो। यी सबै भ्रमहरू चिरिएका छन्। सरकार ढल्यो भन्नेहरूका प्रयास विशाल नदीमा बसेर छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयास मात्रै हुन्।’
यसैगरी २ गते  नै उनी फेरी अर्को कार्यक्रममा हतार हतार गर्दै सहभागी भए। जुन कार्यक्रम थियो २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८१। जहाँ उनले पूर्व तयारीका कामलाई प्रभावकारी बनाउन सरकारले काम गरिरहेको बताए।
प्रधानमन्त्री ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्व तयारी गरिनुपर्नेमा जोड दिए।
यसैगरी माघ ३ गते प्रधानमन्त्री ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्न कास्की पुगे। कास्की पुगेका उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत भएको बताए।
यसैगरी, माघ ४ गते प्रधानमन्त्री ओली स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान) को रजत जयन्तीमा सहभागी भए। जहाँ उनले उत्पादित ऊर्जा खपतको चिन्ता गर्न नहुने बताए।
सोही दिन नै प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेटवार्ता भयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग  आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।