मधेसका नागरिक लागि आफ्नो ज्यान आहुति दिने मधेस आन्दोलनका सहिदको सालिकमा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष अशोक राई तथा सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले माल्यार्पण गरेका छन्।
शनिवार वीरगन्जमा मधेस आन्दोलनका सहिदहरूको सालिकमा अध्यक्ष राई तथा जसपाका उपमहासचिव समेत रहेका नेपाल सरकारका खानेपानी मन्त्री यादवले एक कार्यक्रमकाबीच माल्यार्पण गरेको सचिवालयले जनाएको छ।
वीरगन्जको घण्टाघरमा रहेको सहिदहरूको सालिकमा अध्यक्ष राई तथा मन्त्री यादवले बिहान माल्यार्पण गरेको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिए।
उक्त कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरका नगरप्रमुख राजेशमान सिंह, पुर्वमन्त्री मोहनलाल चौधरी, जिल्ला समन्वय समितिका प्रमुख अजय सराफ, बुहँरामाई नगरपालिकाका नगर प्रमुख सिंहासन सातेली लगायतका नेता कार्यकताहरुले पनि सहिदको सालिकमा माल्यार्पण गरेका थिए।
मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर उनीहरूको मृत्यु भएको थियो। मृत्यु भएसँगै मधेसमा आन्दोलन चर्किएको थियो।
त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपासहित मधेस केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउने गरेको छ। आजको दिन ती दलहरूले विभिन्न कार्यक्रमको आयोजना समेत गर्ने गरेका छन्।