विद्युतको उज्यालो अभाव खेपिरहेको जुम्लामा पहिलो पटक एक मेगावाट विद्युत उत्पादन भएपछि गाउँ झिलिमिली भएको छ।
पातारासी गाउँपालिकाको चुकेनी जलविद्युत सहकारी संस्था लिमिटेडबाट सञ्चालित योजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि विद्युतको अभाव टरेको हो।
जुम्लाको खलंङ्गगा बजारमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो। नेपाल विद्युत प्राधिकरण जुम्लाको घुघुतिमा रहेको पावर हाउसका मेसिनमा पटक पटक आउने समस्या र जुगाड खोलामा पानीको बहाव घट्दै जाँदा लोडसेडिङ बढ्ने गरेको थियो।
तर अहिले चुकेनी जलविद्युत योजनाले विद्युत उत्पादन गरेपछि लोडसेडिङको मार हटेको छ। जुम्लामा विद्युत प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याए पनि भोल्टेज कम हुने समस्या हुँदा विद्युत प्रयोग माग अनुसार हुन सकेको थिएन।
पातारासी गाउँपालिका–१ मा निर्मित एक मेगावाटको चुकेनी खोला जलविद्युत परियोजनाको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र एसियाली विकास बैकको आर्थिक सहयोग स्थानीय तथा गाउँपालिकाको स्वलगानी र कृषि विकास वैंकको ऋण लगानी तथा संयुत राष्ट्र सङ्घीय विकास कार्यक्रम अन्तर्गतको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा हालै निर्माण सम्पन्न भएकाले हाल जुम्ला बजार झिलिमिली भएको हो।
यस परियोजनामा पातारासी गाउँपालिकाका सम्पूर्ण घरधुरीको शेयर रहेको चुकेनी जलविद्युत सहकारी संस्थाका अध्यक्ष गोर बहादुर बुढाले बताए । अध्यक्ष बुढाका अनुसार परियोजना निर्माणका लागी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत एसियाली विकास बैक र नेपाल सरकारको रु २८ करोड ४४ लाख ३० हजार अनुदान, रु ५ करोड नेपाल सरकारको मु।अ कर सहयोग तथा स्थानीय जनता, गाउँपालिका र प्रदेश सरकारको शेयर लगानी रु ११ करोड गरी जम्मा रु ४४ करोड ४४ लाख ३३ हजार लगानी रहेको छ।
राष्ट्रिय प्रसारण प्रणालीको भर पर्न नसकिने बिद्युत आपूर्तिले हैरान जुम्लावासी गाउँपालिकाको सिरानमा रहेको यस चुकेनी खोला साना जलविद्युत परियोजनाको निर्माण धेरैको चासोमा थियो।
परियोजनाबाट लामो प्रतिक्षापछि जुम्लाले भरपर्दो तथा गुणस्तरीय विद्युत बाल्न पाएकोमा उपभोक्ताहरू हर्षित भएको नवीकरणीय ऊर्जाका लागि जीविकोपार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाही बताउँछन्।
गाउँपालिका भित्र सहकारी आफैले विद्युत वितरण गरेको छ भने अन्य स्थानका लागी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरी सेवा पुर्याएको शाहीले जानकारी दिए।
सदरमुकाम एवम् चन्दननाथ नगरपालिका वरिपरिका स्थानमा गुणस्तरीय र पर्याप्त मात्रामा विद्युत उपलब्ध भएपछि साना ठुला उद्योगहरूलाई सहज भएको छ। विद्युत अभावका कारण सञ्चालनमा आउन नसकेका उपकरणहरू पनि धमाधम प्रयोगमा आउन थालेको र अन्य व्यवसायी, विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालय तथा सङ्घ संस्था र घरधुरीहरूले विद्युतीय हिटर, एयरकन्डिसनर, कुकर, केत्ली जस्ता उपकरणहरू प्रयोग गर्न थालेको नेपाल बिद्युत प्राधिकरण जुम्ला वितरण शाखाका प्रमुख राम आशिष शाहले जानकारी दिए।
साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट समेत सञ्चालनमा आएको छ। हाल जिल्लाका प्राधिकरणको प्रणालीमा आबद्ध करिब साढे सात हजार घरधुरीले पनि सोही परियोजनाको विद्युत प्रयोग गरिरहेको विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ।
परियोजनाले चन्दननाथ नगरपालिका भित्रका सम्पूर्ण व्यवसायीहरूलाई ठुलो टेवा पुगेको समेत नगर प्रमुख राजु सिंह कठायतले बताए।