राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका पूर्वमहामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फकाउनुपर्ने माग उठेको छ। कोशीका सभापति राजेश तिम्सिना र मधेसका सभापति तपेश्वर यादवले ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यबाहक सभापति डोलप्रसाद अर्याललाई पत्र लेखेका छन्।
कोशीका सभापति तिम्सिनाले मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन्। “पछिल्लो असार महिनायता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद र दुर्भाग्यपुर्ण छ। ढकाललाई पार्टीबाट निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको महसुस कोशी प्रदेशका सबै रास्वपाकर्मीहरूले गरेका छन्। मलाई लाग्छ, पार्टीको यो घडीमा अब हामी सबै मिलेर अघि बढ्नुपर्छ र त्यसका लागि केही सुधारात्मक कदम आवश्यक छन्,” तिम्सिनाको पत्रमा भनिएको छ।
ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय समिति सदस्य एवं साधारण सदस्यबाट हटाउने पार्टीका सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको समेत पत्रमा उल्लेख छ। पार्टीमा ढकाललाई पुरानै जिम्मेवारीसहित फिर्ता बोलाउनुपर्ने मत उनको छ।
मधेसका सभापति यादवले अहिले पार्टीले कोर्स करेक्सन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। “पछिल्लो असार महिनायता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद छ। मलाई लाग्छ, पार्टीको यो घडीमा अब हामी सबै मिलेर अघि बढ्नुपर्छ र त्यसका लागी केही कोर्स करेक्सन आवश्यक छन्। सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु,” यादवको पत्रमा भनिएको छ।
रास्वपाले गएको असारमा ढकाललाई कारबाही गरेको थियो।




















