सहकारीको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गर्दैछ।

पहिलो पटक थपिएको ६ दिनको म्याद बुधवारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो। 

कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको हो।

रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगेको थियो। जोशी भने असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए।

लामिछानेमाथि प्रहरीले सहकारी ठगी र सङ्गठित अपराधमा अनुुसन्धान गरिरहेको छ।