मोरङको बेलबारी नगरपालिका ३ मा सञ्चालित बेलबारी बहुमुखी क्याम्पसको पाँचौँ परिषद् बैठक सम्पन्न भएको छ । क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन पारित गर्दै बैठक सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापतिसमेत रहेका क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा मोरङ क्षे. नम्बर ३ (ख) का कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले बेलबारीमा क्याम्पस स्थापना गर्न निकै सङ्घर्ष गर्नुपरेको बताए । क्याम्पसको भवन निर्माणका लागि विभिन्न दातृ निकायबाट रकम सङ्कलन गरी काम गरिएको बताउँदै उनले क्याम्पसमा प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्नका लागि सो विषयसँग सम्बन्धित विशेषज्ञ जनशक्तिको अभाव रहेको उल्लेख गरे ।

यसैगरी, बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बेलबारी बहुमुखी क्याम्पस नगरकै एक मात्र क्याम्पस भएकाले यसका शैक्षिक गतिविधिमा सबै नगरवासीको चासो हुनुपर्ने बताए । क्याम्पसका प्राध्यापकहरूले क्याम्पसको पठनपाठनलाई नतिजामुखी बनाउनुपर्ने उनको भनाइ थियो । क्याम्पसलाई राजनीतिक प्रतिस्पर्धाको केन्द्र नभई अध्ययन र अनुसन्धानको केन्द्र बनाउनुपर्ने उनले उल्लेख गरे ।

001

कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले प्रतिनिधिसभामा सांसदको हैसियत दशैँका लागि घरमा पालिने बाख्राको जस्तै भएको बताए । आफू देशका सबै निर्वाचन क्षेत्रको भ्रमण गरी जनताको अवस्था बुझ्ने योजनामा रहेको उनले उल्लेख गरे । भौगोलिक विकटताका कारण ग्रामिण क्षेत्रका जनताको जीवन जोखिममा रहेको बताउँदै उनले झन्डा देखाएर चुनाव जितेका जनप्रतिनिधिले त्यस्ता जनताको हितमा कुनै काम गर्न नसकेको धारणा राखे । संसदीय समितिले कारबाहीका लागि सिफारिस गरेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन प्रमुखलाई सरकारले काठमाडौँको प्रहरी प्रमुख बनाएर राखेको बताउँदै उनले ठूला नेताहरूको सेटिङमा उनलाई नियुक्ति दिइएको उल्लेख गरे । क्याम्पसको नेतृत्व हस्तान्तरणको संस्कार बसाउनुपर्ने बताउँदै उनले कुनै पनि क्याम्पसलाई कुनै एक मात्र राजनीतिक दलको अखडा बनाउन नहुने बताए ।

003

कार्यक्रममा कोशी प्रदेशसभा सदस्यहरू मानबहादुर लिम्त्रू र गीता तिम्सिना, बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइराला, संविधानसभा सदस्यहरू मधु गुरुङ र सावित्रीकुमारी काफ्ले लगायतको उपस्थिति रहेको थियो ।