मोरङको बेलबारी नगरपालिका १ मा सञ्चालित एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रस्तावित कार्ययोजनासहित वार्षिक प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा पारित प्रतिवेदनअनुसार संस्थाले आगामी वर्ष २०८१/०८२ मा आफ्नो कुल सम्पतिमा २० प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ । सेयर सदस्यलाई दिइने लाभांश १० प्रतिशत पुर्याउने लक्ष्य पनि प्रतिवेदनमा समावेश छ ।y1

साधारणसभाका अवसरमा सहकारीले आफ्ना सेयर सदस्यका सन्तानमध्ये १०+२ तहमा उत्कृष्ट अङ्क प्राप्त गर्ने दुईजना विद्यार्थीलाई जनही दुई हजार एक सय रुपियाँ नगदसहित सम्मान गरेको थियो । यसैगरी, ज्येष्ठ सेयर सदस्य, असल बचतकर्ता, उत्कृष्ट बचत समूह, उत्कृष्ट खुत्रुके बचतकर्ताजस्ता विधामा पनि सहकारीले आफ्ना सदस्यहरूलाई सम्मान गरेको थियो ।y2

साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाले सहकारी संस्थाको हितका लागि सेयर सदस्यहरूले साधारणसभामार्फत् संस्थाका गतिविधि तथा आर्थिक पारदर्शिताबारे प्रश्न उठाएर खबरदारी गर्नुपर्ने बताए । खबरदारी नगरे संस्था विधिसम्मत रूपमा चल्न नसकी यसको वृत्तिविकासमा नकारात्मक असर पर्ने उनको भनाइ थियो । आफ्नो नेतृत्वमा रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घले सहकारी संस्थाहरूको सञ्चालनका लागि आवश्यक प्रविधि, सीप, प्रशिक्षण तथा स्टेसनरी सामग्री उपलब्ध गराएर सहजीकरण गर्दै आएको उनले उल्लेख गरे । आफू मातहत रहेका सहकारीहरूलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराई व्यावसायिक कारोबार विस्तारमा पनि सङ्घले सहयोग गर्ने गरेको उनले बताए । सहकारीले समुदायको हित हुनेगरी विधि र सिद्धान्तको पालना गर्दै पारदर्शी सेवा प्रवाह गर्नुपर्ने उनको धारणा थियो ।y3

कार्यक्रमकी सभापतिसमेत रहेकी संस्थाकी अध्यक्ष मिनु राईले विभिन्न प्रतिकूलताका बीच सेयर सदस्यहरूको दृढ इच्छाशक्ति र समर्पणका कारण संस्था ३० औँ वर्षसम्म निरन्तर रूपमा चलिरहन सफल भएको बताइन् । सहकारी इतिहास प्रतिबिम्बित हुने स्मारिका प्रकाशन गर्न पाउनु महत्वपूर्ण उपलब्धि रहेको उनको भनाइ थियो ।

संस्थाकी पूर्वअध्यक्ष कुन्ती गुरुङ, महिला प्रतिभा सङ्घ बेलबारीकी अध्यक्ष भगवती श्रेष्ठ, संस्थाका सल्लाहकार ललितकुमार राई लगायतको उपस्थितिमा साधारणसभा सम्पन्न भएको आयोजकले जनाएको् छ ।