गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए। आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त। त्यही दिनबाट यो परिवारले सधैका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको सहरा पनि गुमायो।
घरको जेठोबाठो छोरा वसन्त पढाइमा निकै मेहनती थिए। ‘‘परिवारको दुःख हटाउछु चिन्ता नगर्नु भनेर सधैँ मलाई सम्झाउँथ्यो”, बुबा भरत साहले भक्कानिँदै भन्नुभयो, ‘‘धेरै पढेर ठूलो मान्छे बन्ने, दुई जना दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो। त्यो पूरा नहुँदै अस्तायो।” छोराको शोक बारेर बसेका भरतले छोराको मृत्युसँगै आफ्नो परिवारको बिचल्ली भएको बताउनुभयो। “घरको एउटा खम्बा ढल्यो, अब कसले यो घरको काँध थाम्छ ?’’, गहभरि आँसु पार्दै भरतले भन्नुभयो । ४५ वर्षीय बुबा भरत सामान्य किराना पसल चलाउनुहुन्छ।
परिवारको लालनपालन तथा छोराछोरीको शिक्षादीक्षाको एकमात्र आधार यही किराना पसल हो। थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरिको छाक टर्छ। ‘‘छोराले राम्रो पढ्दै गएकाले अब दुःखको दिन गयो भन्ने लागेको थियो तर एकाएक बज्रपात पर्यो। घटना भएको दिनदेखि घरमात्र होइन, गाउँ नै शोकमा छ। परिवारमा पूरै अन्धकार छाएको छ। आमाको राम्रोसँग होस आएको छैन”, उहाँले सुनाउनुभयो।
वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कुलबाट गरेका थिए। कक्षा ६ देखि एसइईसम्मको पढाइ भने चितवनको प्रभात मा.वि.बाट गर्नुभयो । गत शैक्षिकसत्रमा एसइई परीक्षा पास भएपछि कक्षा ११–१२ पढ्न उहाँ काठमाडौँ जानुभयो। दिदी विभाकुमारी साहसँगै बसेर उहाँले काठमाडौँको नयाँबानेश्वरस्थित लिभरपुल कलेजमा विज्ञान विषय लिएर अध्ययन गरिरहनुभएको थियो। क्याम्पसले उहाँलाई एसइईका केही शैक्षिक प्रमाणपत्र ल्याउन ताकेता गरेपछि गत बिहीबार मात्र चितवन आएर फर्कँदै हुनुहुन्थ्यो।
शुक्रबार बिहान विद्यालय पुगेर कागजात सङ्कलन गरेपछि साँझ माइक्रोबसमार्फत काठमाडौँ फर्कँने क्रममा राति १ः२५ बजेको समयमा काठमाडौँमा भएकी दिदी विभासँग फोन सम्पर्क गरेका उहाँ त्यसपछि भने सधैँका लागि सम्पर्कविहीन हुनुभयो। ‘‘फोनमा भाइलाई कहाँ आइपुग्यौँ भनेर सोधेको थिएँ। दिदी म आउँदै छु, रातको समय जङ्गलको बीचमा जाममा परेको छु।
जाम खुल्यो भने छिट्टै आइपुग्छु, आनन्दले सुत्नु भनेको भाइको कुरा गर्दागर्दै फोन काटियो। किन भाइले राख्छु पनि नभनी फोन काट्यो भनेर फोन सम्पर्क गर्न खोजे तर, फोन लाग्दै लागेन”, दिदी विभाले भन्नुभयो,“कुनै कारणले फोन बन्द भयो कि ? भन्ने लाग्यो। भोलिपल्ट बिहानसम्म भाइको कुनै अत्तोपत्तो भएन। लगातार पानी परिरहेका थियो। बाढी र पहिरोले सडक अवरुद्ध भएका खबर एकनासले आइरहेका कारण कतै जाममा अलपत्र पर्यो कि भन्ने आसमा खोजी सुरु गर्यौँ।
बुबाआमालाई पनि सबै कुरा खबर गरिदिए। दिउँसोबाट झ्याप्ले खोला पहिरोमा बस र माइक्रो पुरिएको खबरपछि भने हामी आत्तियौँ। सुरक्षाकर्मीले धमाधम शव निकाल्न थाले।” आइतबारबाट वसन्तका बुबा र भिनाजु पनि खोजीमा निस्किए। चितवनदेखि नै पहिरो खसेको ठाउँमा सोधीखोजी गर्दै जाँदा झ्याप्ले खोलामा खटिएका सुरक्षाकर्मीले शव काठमाडौँ लगेकाले उतै जान सल्लाह दिए।
बुबा भरतले सुनाउनुभयो,“पहिराले बाटो क्षतविक्षत भएकाले तत्काल जान सकिएन। काठमाडौँमा भएका आफन्तलाई पठायौँ। सोमबार बिहान छोराको शव पहिचान भयो। एकछिन निशब्द हुनुभएका उहाँले आँसु पुछ्दै उहाँले भन्नुभयो,“त्यसपछि छोराको शव लिएर घर कसरी आइपुगैँ कुनै होस छैन। मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो। बाबा इन्जिनियर बनेर सरकारी सेवा गर्छु, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो।”