कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई सवार गाडीमा आक्रमण गरेर लुटपाट गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका छन्।

बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किने क्रममा उदयपुरको बेलका नगरपालिका–८ मा मंगलबार राति १० बजेतिर लुटपाटको प्रयास भएको प्रहरीले बताएको छ।

राई विराटनगरतर्फ फर्किने क्रममा बेलकाको सिरवानीमा ६ जनाको समूहले गाडी रोकेर लुटपाटको प्रयास गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको अरोपमा बुधबार विशाल राई, थानवीर राई, आकाश राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राईलाई पक्राउ गरिएको हो।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। लुटपाटकै उद्देश्यले गाडीमा आक्रमण भएको देखाएको उनको भनाइ छ।

उनले भने, “यस समूहले पहिले पनि लुटपाट गर्ने गरेको खुलेको छ। घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ।“ राज्यमन्त्री सवार प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्न खोज्दा चालकले भगाएका थिए। गाडी अघि बढेपछि त्यसमा ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ।