कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले चाडपर्वको पूर्व सन्ध्यामा विजया दशमीको शुभकामना सहित चाड पर्वलाई हर्षोल्लास र आपसी सद्भावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाई आम नागरिकको जन जीवन सामान्य तुल्याउन जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ।
असोज १६ गते दिउँसो भर्चुअल माध्यमद्वारा प्रदेश प्रहरी प्रमुख खापुङले मातहत जिल्ला प्रहरी प्रमुखहरू तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई चाडपर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, कालोबजारी नियन्त्रण, खुल्ला सीमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार, अतिसवाजी तथा पटका जन्य पदार्थहरुको ओसारपसारलाई नियन्त्रण गर्न सीमा नाकाहरुमा कडाइका साथ चेकजाँच गर्न तथा चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवतजावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गरी आवागमनलाई थप सहजता बनाउन र दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत निर्देशन दिनु भएको छ।
उहाँले चाड पर्वलाई लक्षित गरी खेलिने तास, जुवा, जाँड रक्सी सेवन, लागुऔषधको प्रयोगलाई पुर्णरुपमा नियन्त्रण गर्न, फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रताका साथ कार्यान्वयन गर्न, मापसे चेकिङलाई कडाइका साथ निरन्तरता दिन र विशिष्ट व्यक्तिहरुकोसुरक्षा तथा महत्त्वपूर्ण प्रतिष्ठानहरुको सुरक्षामा त्रुटिरहित तवरबाट सुरक्षा व्यवस्था मिलाउन  निर्देशन दिनु भएको छ।
साथै उहाँले मौसम प्रतिकुलताको कारण बाढी, पहिरो, डुबान जस्ता विपद्का घटनाहरु भइरहेको अवस्थामा प्रहरी संवेदनशील भई अन्य सुरक्षाका निकायहरुसँग समेत समन्वय र सहकार्य गरी आफूसँग भएको सीमित साधन स्रोतको अधिकतम प्रयोग गरी परिचालन हुन समेत निर्देशन दिनु भएको छ।