निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोसी नदीको जलसतह बढेको छ। 
जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिवार बिहान ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ। 
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ। पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत देखिन जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। 
सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ। 
नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन्।