बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण आन्तरिक उडान बन्द भएको छ। 
खराब मौसमका कारण दुई सय बढी उडानहरु रद्द भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। 
आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन्। खराब मौसमका कारण यति धेरै सङ्ख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 
पर्वतीय उडान, सुगम र दुर्गमका लागि दुईतर्फी गरेर शुक्रवार ३ सय १६ उडानको तालिका रहेकोमा ७८ मात्र उडान भएका छन्। 
देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक खराब मौसमका कारण जहाज हल्लाउने, डाइभर्ट हुने क्रम नरोकिएपछि प्राधिकरणले मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान र हेलिकोप्टर चार्टर नगराउने निर्णय गरेको छ।