साफ यु–१७ च्याम्पियनसिप फुटबल अन्तर्गत दुवै सेमिफाइनल खेलहरु आज हुँदै छन्। 
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज हुने पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। उता दोस्रो खेलमा पाकिस्तान र बङ्गलादेश आमने सामने हुने छन्।
नेपाल समूह उप विजेताको रुपमा सेमिफाइनल पुग्दा भारत विजेताको हैसियतले सेमिफाइनल खेल्दै छ। भारतले समूह चरणमा बङ्गलादेश र माल्दिभ्सलाई पराजित गरेको थियो।
यता, नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने श्रीलङ्कामाथि ४–० को एकतर्फी जीत दर्ता गरेको थियो। यसैगरी, समूह चरणको अन्तिम खेलमा घरेलु टोली भुटानमाथि २–१ गोलको पुनरागमन जीत दता गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो।
नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले उपाधि जित्ने लक्ष्यका साथ भुटान आएको बताउँदै भारतविरुद्धको  सेमिफाइनल खेल उत्कृष्ट हुने विश्वास व्यक्त गरे।
यसैगरी, कप्तान सुवास बमले नेपाली टिमले पहिलो खेलमा गरेको गल्तीमा सुधार गरेको बताउँदै भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्य रहेको बताए। टिममा सबै खेलाडी फिट भएकाले पनि फाइनल पुगेर उपाधि  जित्ने विश्वास व्यक्त गरे।
नेपाल र भारतबीचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने छ।
पाकिस्तान र बङ्गलादेशको खेल भने अपरान्ह पौने ६ बजे हुने छ। आजका विजेताले उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्ने छन्। साफ यु–१७ मा घरेलु टोली भुटानसहित श्रीलङ्का र माल्दिभ्स पनि सहभागी थिए।