बिहीबार बेलुकादेखिको लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाका बस्ती र सडकमा बाढी पसेको छ। 
अधिकांश स्थानका सडकमा बाढी पसेका कारण सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।
काठमाडौँ उपत्यकाको सानेपास्थित बागमती नदीमाथिको कालोपुल, इच्छुमती (टुकुचा), लैनचौर, सङ्कटा पुल, टङ्केश्वर, परोपकार, नख्खु खोला पुल, कलङ्कीको ट्राफिक प्रहरी प्रभागलगायत सथनमा पानी जमेर समस्या भएको महाशाखाका जनाएको छ। 
यसैगरी, दरबारमार्गस्थित होटल याक एण्ड यति अघि रुख पल्टिएर आधा घण्टा सडक जाम भएको छ। 
दक्षिणकालीबाट फाखेल हुँदै हेटौँडा जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको छ। नागढुङ्गाबाट सिस्ने खोला निस्कने सुरुङमार्ग नजिकै पहिरो गएर पनि सडक अवरुद्ध भएको छ।
यसैगरी, स्वयम्भूमा गुडिरहेको मोटरसाइकलसहित चालकलाई अविरल वर्षाका कारण आएको बाढीले बेपत्ता बनाएको छ। मोटरसाइकल भेटिए पनि मानिस अझै बेपत्ता छन्।