प्रहरी प्रभाग भैँसेपाटीकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीमाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ। उनीमाथि ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेर एक युवाबाट ३० लाख रुपैयाँ असुल गरेको आरोप छ। सो आरोपपछि शाहीको जिम्मेवारी खोसिएको छ। 

शाहीकै योजनामा एक जग्गा व्यवसायीलाई बलात्कारको मुद्दा चलाउने भन्दै ३० लाख असुल गरेको खुलेपछि उनीमाथि समेत ललितपुर प्रहरीले मुद्दा चलाउने तयारी गरेको हो।

त्यसका लागि जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई पहिले निलम्बन गर्न सिफारिस गरेको हो। निलम्बनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

उपत्यका प्रहरी कार्यालय स्रोतले भन्यो, “इन्स्पेक्टर शाहीमाथि मुद्दा नै चलाउनुपर्ने केही आधार देखिएको छ। हामी त्यसको तयारीमा छौँ। थप प्रमाण भेटिए मुद्दा चल्छ।”

ललितपुर प्रहरीले शाहीको मोबाइल नियन्त्रणमा लिएको छ। ललितपुर प्रहरीको नियन्त्रणमा रहेका युवा ताज स्लामको मोबाइल ‘आइफोन १४ प्रो म्यास’ भने गायब छ। प्रहरी स्रोतका अनुसार प्रहरी निरीक्षक शाहीले नै ताजको मोबाइल गायब पारेका हुन्। 

शाही ललितपुर प्रहरी कार्यालयमा तानिएपछि ताजको मोबाइल नै गायब भएको हो। प्रहरी स्रोतका अनुसार इन्स्पेक्टर शाहीले आफू र ताजबीच भएको कुराकानी प्रमाणको रूपमा हुने भएकाले गायब पारेकी हुन्। 

शाहीले आफू र ताजबीच मोबाइलको म्यासेजमा भएको कुराकानी समेत हटाएकी छन्।