आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ। 
क्यानडाको ओन्टारियोस्थित किंग सिटी मैदानमा खेल नेपाली समयअनुसार ८ः४५ बजेदेखि सुरु हुनुपर्ने थियो। तर, वर्षाका कारण मैदान खेल्न योग्य नबन्दा खेल रद्द भएको हो।
नेपाल यसअघिका तीनै खेलमा पराजित भएको थियो। नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो। नेपालले तेस्रो खेलमा पुनः क्यानडासँग पाँच विकेटको हार बेहोरेको थियो।
लिग–२ मा सात खेल खेलेको नेपालले हालसम्म एक मात्र जित निकालेको छ। नेपालले यो प्रतियोगिताको पछिल्ला पाँच खेलमा लगातार हार बेहोरेको थियो।
नेपाल अङ्कतालिकाको सातौँ स्थानमा छ। नेपालको तीन अंकमात्र छ। छैटौँ स्थानको ओमानले सात खेलबाट ६ अङ्क जोडेको छ।
ओमानले आफ्नो पहिलो खेलमा नेपाललाई एक विकेटले हराएको थियो । दोस्रो खेलमा ओमान घरेलु टिम क्यानडासँग ५० रनले पराजित भएको थियो।