यति बेला जितिया पर्वको रौनक छ। मुख्यतः पूर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारु महिलाहरूले धुमधामका साथ जितिया पर्व मनाइरहेका छन्। काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाहरू पनि जितियामा रमाइरहेका छन्। उपत्यकामा २०६० सालदेखि जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रूपमा मनाइरहेका छन्। उपत्यकामा थारु महिला समाज नेपाललगायतका संघसंस्थाहरुले जितियाको धुमधाम तयारी गरिरहेका छन्।
जितिया पर्व किन मनाइन्छ ? के छन् यसका धार्मिक तथा पौराणिक महत्वहरु ?
जितिया पर्व एउटा आमाले आफ्नो सन्तानको दिर्घायूको कामना गर्नको लागि, अकाल मृत्युबाट बचाउन कामना गरी मनाइने पुरानो मान्यता छ। यस्तो मान्यता परम्परादेखि नै चली आएको छ। पौराणिक कालदेखि नै सुरु भएको हो यो पर्व खासमा विवाहित महिलाहरुले मनाउने गर्छन्। आफ्नो सन्तानको दिर्घायूको कामना गरेर मनाइन्छ। माइती घरमा गएर गएर दर खाने चलन छ। ठ्याक्कै हरितालिका तीज जस्तै पर्व हो यो। साथीसंगी, दिदीबहिनीहरुसँग रमाइलो गरिन्छ। आपसी मेलमिलाप, सद्भाव, भाषा संस्कृति जगाउनको लागि पनि यो पर्व मनाइन्छ। किनकि कालान्तरमा हाम्रा सन्तानलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ।
पहिले मनाइने जितिया पर्व र अहिले मनाइने जितिया पर्वमा के –के फरक छ ?
पहिला भन्दा जितिया पर्व मनाउने चलन हिजोआज अलिक फरक छ। सानो छँदा चाडबाड आयो भने नयाँ लुगा लगाउने, मिठो मसिनो खाने चलन थियो। अहिले चाहिँ पहिला जस्तो स्थिति छैन। पुराना चलनहरु हराउन थालेका छन्। गाउँमा यो पर्वको भिन्नै रौनक छ र सहरमा आधुनिकीकरण हुन थालेको छ। आफ्नो इच्छा अनुसार बाँच्न पाएर वा स्वतन्त्रताका कारणले होला। जितियाका अवसरमा हामी पिनाले कपाल धुन्थ्यौँ। सहरमा त्यो सम्भव छैन। कपाल धुनको लागि खोलामा जान्थ्यौँ। अहिले त सहरमा सम्भव हुँदेन् तर गाउँमा धारामा गएर नुहाउँछौँ। अहिले त पर्वहरु महोत्सवका रूपमा आइसके। त्यसैले, अहिले झन् रमाइलो छ। तर परम्परा र रीतिरिवाज भने जोगाउनुपर्ने बाध्यता छ।
जितिया पर्वमा कति दिन व्रत बस्नुपर्छ ? महिलाहरुले नै कि जितिया मनाउनु परेको खास कारण ? सप्तमीदेखि तीन दिन व्रत बस्ने चलन छ। कृष्ण पक्ष असोज महिनामा पर्छ कहिलेकाहीँ भदौमा पनि पर्छ। तर तिथि सप्तमी अष्टमी नवमी नै हो। सप्तमीमा नुहाएर बिहानीपख दर खाने, देउतालाई ढोगेर पूजा गरेर दही चिउरा चढाउने र त्यो खाएर निराहार व्रत बस्नुपर्छ। २४ घण्टा पानी नखाईकन व्रत बस्नुपर्छ।
व्रतालु महिलाले पहिलो दिन स्थानीय जलाशयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन्। दोस्रो दिन अर्थात् अष्टमीका दिन व्रतालु महिलाहरू निराहार व्रत बस्ने र त्यस दिन महिलाहरू गाउँको एकै ठाउँमा जम्मा भई भगवान् जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन छ। जितियाको अन्तिम तथा पारन (समापन) को दिन व्रतालु महिलाहरू पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन्।
जितिया पर्वमा विशेषगरी खाने परिकार के के हुन्छन् ?
दही र सख्खरको प्रसाद तयार गर्ने प्रचलन छ। व्रत बस्दा पानी पनि खान मिल्दैन भनिन्थ्यो हिजोआज फलफूल खाने चलन बढेको छ। खानपान आफ्नो इच्छा अनुसार हो। बिस्तारै परिवर्तन हुँदै पनि छ। स्वास्थ्य सबैभन्दा ठुलो कुरा हो।
जितिया पर्वका के को पूजा गरिन्छ ?
जितिया पर्वमा चिल अनि स्यालको पूजा गरिन्छ। किनभने चिल र स्याल साथीका रूपमा मानिन्छ। जितवहानको कथा सुनेर आएको हुनाले बालबच्चाको दीर्घायुको लागि व्रत बसेका थिए भन्ने मान्यता छ। उनीहरूको कथा लामो छ।
जितिया पर्वको प्रसाद वितरणको तौरतरिका पनि फरक छ रे हो ?
यो पर्वको अलग्गै धार्मिक मान्यता र प्रचलन रहेकाले ठाउँ अनुसार पनि मनाउने तरिका फरक हुनसक्छ। तर विधि र तिथि चाहिँ उही हो। यो पर्व अन्य समुदायले पनि मनाउने गर्दछन्। तराइमा धेरै समुदायले मनाउने गर्दछन्। भारतको विहारतिर पनि मनाउने गर्दछन्। पौराणिक कथामा बिहारको प्रसङ्ग पनि जोडिएको छ। नेपालमा चाहिँ परम्परादेखि नै चल्दै आएको छ। बिहारमा छोराको लागि मात्र विधि गरिन्छ, पूजा पनि छोराको लागि गरिन्छ भन्ने छ। हाम्रोमा त सबै सन्तान बराबर हो भन्ने मान्यता छ। हाम्रो समुदायमा त्यस्तो भेदभाव हुँदैन।
पछिल्लो समय अन्य समुदायले सहरमा पनि जितिया पर्व मनाउने चलन सुरु भएको छ। कस्तो सन्देश प्रवाह भइरहेको छ ?
सहरमा जितिया मनाउन पाउँदा धेरै जना खुसी छन्। किनभने पहिला पहिला गाउँमा हुन्थ्यो, धेरै मान्छे गाउँ जान पाउँदैनन्। पर्व सहरमा मनाउँदा सबै जना एकसाथमा दुःख बिर्सिएर रमाउन पाउँछन्। कति जनाले यस्तो समयमा गाउँ सम्झिने गर्छन्। सहरमा रहेका बच्चाहरुलाई पनि हाम्रो यस्तो संस्कृति, रीतिरिवाज छ भनेर सिकाउन पाइएको छ। आफ्नो संस्कृतिको बारेमा बच्चैदेखि थाहा पाउनु पनि पर्छ। यसको महत्त्व हाम्रा सन्तानहरुलाई बुझाउनुपर्ने बाध्यता छ। तर यो पर्वको महत्त्व राज्यले बुझेजस्तो लाग्दैन। किनभने दशैमा बिदा हुन्छ तर जितियामा हुँदैन। हामीलाई सरकारले बिदा दिएको छैन। महिलाहरू २४ घण्टासम्म व्रत बस्ने भएकाले एकदमै समस्या हुन्छ। सकेसम्म सरकारले यो दिन बिदा दिने हो भने राम्रो हुन्थ्यो।
तपाईँले बिदाको माग गर्नुभयो। तपाईँलाई के लाग्छ सरकारले यसलाई राष्ट्रिय पर्व घोषणा गर्ला ?
हामीले कोसिस गरिरहेका छौ। तर खासमा दिनुपर्ने हो। सबै चाडपर्वमा दिएको छ भने हाम्रो पर्वमा पनि दिनुपर्ने हो। थारु समुदायको सम्मानका लागि बिदा दिनुपर्छ।
जितिया पर्व थारु समुदायले मात्र मनाउँछन्, राष्ट्रिय पर्व भनेर घोषणा गर्दा अन्य समुदायहरुलाई समस्या होला नि।
पर्वको सबैले वा एक अर्काको मानेको राम्रो हो। किनभने हामीले अरूको परम्परा पनि अपनाएका छौ। त्यसैगरी, उहाँहरूले पनि बुझ्नुपर्छ। एकअर्कालाई नअपनाउँदा समाज र देश समृद्ध हुँदैन। भेदभाव गरेर त हुँदैन नि। सबै तिरबाट आवाज उठिरहेको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि पर्व मनाउन थालिएको छ। पर्व तीन दिनसम्म चल्ने र व्रतको एक दिन मात्र बिदा दिए पनि हुन्छ।
यसपालिको जितिया पर्वको तयारी कसरी गर्नुभयो ?
तयारी एक महिना अगाडिदेखि नै गरिरहेका छौँ। हाम्रो संस्थाप्रति बहुसङ्ख्यक समुदायको आशा र भरोसा भएकाले सामान्य तयारीले पुग्दैन। ठुलो कार्यक्रमको आयोजना भइरहेको छ। जनसमुदायहरुसँग कार्यक्रम हुने भएकाले तयारी धेरै नै गर्नुपर्छ। हाम्रो संस्था खासमा महिलाहरुको हक, हित र अधिकारको लागि हो। महिलाहरुलाई सक्षम बनाउन, अगाडि बढाउनको लागि हो। विभिन्न सीपमूलक तालिमहरु दिने पनि गरेका छौँ। महिलाहरुको लागि आत्मबल दिने खालको तालिमहरु पनि दिने गर्छौ। महिलाहरुलाई घरबाट बाहिर निकाल्ने वातावरण बनाउने काम पनि गर्छौ।
जितिया पर्व विवाहित महिलाले मात्र मनाउनको कारण के होला ?
जितियामा विवाहितले मात्र व्रत बस्ने चलन छ । व्रत आफ्नो सन्तानको लागि बस्ने हो। आफ्नो घरको सुख शान्ति र श्रीमानको दिर्घायूका लागि बस्ने हो। पौराणिक र धार्मिक मान्यता नै विवाहितहरुका लागि छ भनेर अध्येताहरुले भन्नुभएको छ।
जितिया पर्वमा तीन दिनसम्म निराहर व्रत बस्दा त शारीरिक समस्या हुँदैन र भन्या।
जितियाको रहर र रमझमले गर्दा भोक लागेको पत्तो हुँदैन। हामी सधैँ यही पर्वको प्रतीक्षामा औँला गनिरहेका हुन्छौँ। उत्साह र उमङ्गका कारण पनि व्रत बस्ता वास्ता लाग्दैन। एउटा विश्वास र आस्थाका कारण पनि यसको ठुलो महत्त्व छ। आफ्नो बालबच्चा, घरपरिवारको खुसीको लागि व्रत बस्न पाउँदा असहज हुँदैन। माइत जाने दिदीबहिनीहरुसँग भेट्ने अनि एकअर्कासँग सुख दुःख बाँड्ने पर्व पनि हो। त्यसैले व्रत बस्दा असहज हुँदैन।
जितियाको पुरानो चलन हराउँदै गयो भन्ने गुनासो छ, अब परम्परा कसरी जोगाउन सकिएला ?
पहिला साधारण तरिकाले मनाउने गरिन्थ्यो। अहिले अलिकति भड्किलो अवस्थामा आइपुगेको छ। समय अनुसार परिवर्तन हुँदै गइरहेको छ। सबै ठाउँमा एकनास हुँदैन। सकेसम्म पौराणिक, थारुको मौलिकता झल्किने खालको पर्व मनाउनुपर्ने हुन्छ। पछिल्लो समय कार्यक्रम गरेर पनि यसलाई जोगाउनुपर्छ भनेर सन्देश दिन खोजिरहेका छौँ। कार्यक्रम पनि एकदमै सभ्य र शिष्ट बनाउने गरेका छौँ। संस्कृतिलाई जर्गेना गर्नपनि हामी कार्यक्रम गरिरहेका छौँ। पहिला हजुरआमा, हजुर बुवाले लगाउने पहिरन, गहना अहिले धेरै मात्रामा हराइसकेका छन्। बालबच्चाहरुले संस्कृति, पहिरन भुल्छन् भनेर पुरानो गरगहना पहिरन लगाउने गरेका छौँ। भड्किलो त हरेक कुरामा भएको नै छ तर गीतहरु पनि भड्किला खालका बजारमा आइरहेका हुन्छन्। तर हामी भड्किलो पर्व हुँदैन भनेर आफ्नो कला, संस्कृति जोगाउन कम्मर कसेर लागेका छौँ।