नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले १० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलिएको बताएका छन्। 
मङ्गलवार राष्ट्रिय युवा सङ्घ नेपाल साइवर सर्कल विभागद्वारा आयोजित ‘डिजिटल मिडिया साक्षरता र कार्यशाला’ कार्यक्रममा उनले १० वर्षको द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गएको भन्दै विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरू पछि धकेलिएको बताएका हुन्। 
उनले भने, ‘१० वर्ष अकारण मुलुक द्वन्द्वमा धकालियो। कारण केही पनि थिएन। बहुदल आएको पाँच वर्षभित्र त्यसको विरुद्धमा हतियार उठाउनुपर्ने कुनै जरुरत नै थिएन। इतिहासमा एउटा ठुलो प्रश्न छ त्यो १० वर्ष देशको मूल्यवान् समय खेर नै गयो। विकास, समृद्धि सबै कुरा गए, विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरू पछि धकेलियो। अर्को १० वर्ष त्यो परिपूर्ति गर्न लाग्यो। एउटा राजनीतिक मुद्दा त्यसले सिर्जना गरेका अवस्थाहरु र त्यसको व्यवस्थापनका लागि २० वर्ष खर्च गर्नपर्‍यो।
यसको साथै उनले प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले देश बन्दैन, भन्ने भाष्य निर्माण गरेको भन्दै त्यसलाई चिरेर देशलाई अगाडि बढाउनुपर्ने बताए। 
उनले भने, ‘देश बन्दैन, यहाँ बस्नु हुदैँन भनेर जुन भाष्य निर्माण भएको छ त्यसलाई चिरेर देश बन्छ भन्ने भाष्य निर्माण गर्नुपर्छ। कुनै ठाउँमा चुकेका पनि छौ, त्यसलाई अस्वीकार गर्नुपर्ने कुनै कारण पनि छैन। हामीले कसरी समस्याको समाधान गरेर अगाडि बढ्न सक्छौ त्यो पाटोबाट पनि हेरौँ। तर प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले त्यसमा भएका कमजोरी मात्र देखाउने कुरा र प्रायोजित तरिकाले गर्न खोजिएको कामलाई बदल्छौ।’
यस्तै, भूकम्प, कोभिडका कारणले पनि देश पछाडि परेको भन्दै गरेका प्रयास निराशाजनक नभएको पनि उनको भनाई छ।