लालिगुराँस साकोसका नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको पदस्थापना सम्पन्न भएको छ।

सोमबार साँझ साकोसको सभाहलमा आयोजित एक औपचारीका कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना सम्पन्न भएको हो। पदस्थापन कार्यक्रमलाई सम्बोधन् गर्दै कार्यक्रमकी प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाकी उप प्रमुख नितु थापा कोईरालाले मुलुकमा बढ्दो सहकारी समस्यालाई मध्यनजर गर्दै सजक भएर काम गर्न नवनिर्वाचित समितिलाई सुझाव दिएकी छन्। कोइरालाले राजनीतिक रुपमा उच्च स्थानमा पुगेकाहरुले नै सहकारीमा समस्या निम्त्याएको स्मरण गर्दै लालिगुराँसमा त्यो अवस्था नआउने गरी काम गर्न सुझाव दिएकी हुन्।

त्यस्तै, संस्थाका निवर्तमान अध्यक्ष दुर्गा गौतमले नयाँ कार्यसमितिले फरक रणनीतिका साथ संस्थालाई थप सवल बनाउनेमा आफु ढुक्क रहेको जिकिर गरे। उनले नयाँ समिति आउँदैमा पुराना रणनीति र निर्णय विस्थापित हुन्छन् भन्ने भाष्य समाजमा रहे पनि लालिगुँरासको सवालमा त्यो अवस्था नआउने विश्वास व्यक्त गरे।

त्यस्तै, नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद आचार्यले आफु लामो समयदेखि संस्थाको विभिन्न समिति र उपसमितिमा काम गरेर संस्थालाई नजिकबाट बुझेको हुनाले संस्थाको आवश्यकता र शेयर सदस्यको अपेक्षा अनुरुप नै काम गर्ने बताए। उनले चाँडै नै नवनिर्वाचित समितिको बैठक बसेर बिगतका कामहरुबाट समेत प्रेरणा लिँदै नयाँ रणनीतिका साथ कम अघि बढाउने जिकिर गरे।

गत असोज ३ गते सम्पन्न ३० औँ साधरणसभाले नारायण प्रसाद आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको थियो। नवगठित समितिको उपाध्यक्षमा राजेन्द्र थापा, सचिवमा सागर सुवेदी, सह–सचिवमा राजेशजङ्ग कार्की, कोषाध्यक्षमा खगेन्द्र ओझा, सदस्यहरुमा राजु बस्नेत, विकास बुढाथोकी, तुलसा राइ, गंगादेवी श्रेष्ठ, शान्ता खतिवडा र रन्जना चौधरी चयन भएका छन्। साधारणसभाबाट विश्वनाथ निरौलाको संयोजकत्वमा राम बहादुर कार्की र सकुन्तला थापा रहेको सर्वसम्मत तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि गठन भएको छ। पदस्थापन कार्यक्रममा जिल्ला सहकारी संघकी उपाध्यक्ष पार्वती बराल, कोशी प्रदेश बचत तथा ऋण संघका अध्यक्ष हरिप्रसाद सुवेदी, संस्थापक अध्यक्ष कञ्चन बुढाथोकी साथै संस्थाका पुर्व सञ्चालक समिति सदस्यहरु लगायतको उपस्थिती रहेको थियो।