देशका केही भू–भागमा आज पनि वर्षा हुनेछ। केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। 

बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एकदुर्इ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ। कोसी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोसी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न सतर्क रहन विभागको आग्रह छ। 

दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सचेत गराएको छ। 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ। देशभर मनसुनी वायुको प्रभाव छ। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले बताएको छ।