सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संसारलाई नै सूचित गर्ने पत्रकारहरु आफ्नाबारे सुसूचित हुन नसकेको बताएका छन्। 
सोमबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई  सुसूचित गर्ने पेशाले नै आफ्नाबारे सुसूचित गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरुको जिन्दगी एकदमै भयावह अवस्थामा छ। प्राइभेट स्कुलका शिक्षकहरुले कोभिड लागेर स्कुल बन्द भएको ११ महिना भयो, पैसा छैन भनिरहेका छन्। पत्रकारिता क्षेत्र पनि सबैभन्दा बढी जोखिममा छ। आफ्नो अनि परिवारको केही प्रवर्धन छैन। दुनियाँलाई सुसूचित गर्ने पत्रकारहरुले आफ्नो लागि सुसूचित गर्न सकेका छैनन्।’
साथै उनले जोखिममा भएको पत्रकारिता क्षेत्रले मानवतालाई जोगाइ राखेको बताए। उनले पत्रकारितालाई अगाडि बढाउन मन्त्रालयसँगै सिङ्गो राष्ट्र लाग्नुपर्ने बताए।