हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ। सोमबार एक औपचारिक कार्यक्रम गर्दै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो।
जिल्लामा रहेका चार वटा स्थानीय सरकारहरुले साक्षर पालिका घोषणा गरेपछि मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको हो।
जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्कीको अध्यक्षतामा भएको साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसहित सरोकारवालाहरुले सामूहिक रूपमा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिए पनि स्थानीय सरकारहरुले १२ सूचकहरु मध्य ६ सूचक पूरा गरेका छन् बाँकी रहेका ६ वटा सूचक पनि पूरा गर्न आफ्ना आगामी कार्यक्रम, योजना बनाउँदा ध्यान दिन सुझाव दिएका छन्।
नागरिक अगुवा रूप बहादुर मल्लले साक्षर घोषणामा मात्र सीमित नराखेर अबदेखि आफ्ना व्यवहार,आचरण र क्रियाकलापमा पनि साक्षरताको रूप देखाउनुपर्ने बताए। 
मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन् भने अझै १२ जिल्ला साक्षर जिल्ला घोषणा हुन बाँकी छन्।