नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको सामाजिक सुरक्षा कोषको व्यवस्थाबारे कुरा अगाडि बढाएको बताएका छन्।
बुधवार नेपाल चलचित्र कलाकार सङ्घको ३६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा कोष ,आफै सदस्य नवीकरण गर्ने, स्वास्थ्य बिमाको कुरा अगाडि बढाउनको साथै संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरी काम अगाडि बढाएको बताएका हुन्।
उनले भने,‘ मैले केही कुराहरू अगाडि बढाएको छु। त्यसमा सामाजिक सुरक्षा कोषको कुरा अगाडि बढाएको छु। त्यसपछि आफै सदस्य नवीकरण गर्ने, स्वास्थ्य बिमाको कुरा छ। यसबारे पनि काम गर्ने छु। यो संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरी काम गर्नेछु। यो कुरा कुर्सीमा भएको भएर मात्र भनेको होइन।’
उनले चलचित्रका स्टेक होल्डरहरु चलचित्रको खम्बा रहेको भन्दै सङ्घका सबै सदस्यहरुले आफ्नो सोच उज्यालो नबनाएसम्म चलचित्र उद्योगको राम्रो विकास हुन नसक्ने बताए।
उनले भने,‘चलचित्रका स्टेक होल्डरहरु जुन छन्। उनीहरू चलचित्रका पिल्लरहरु हुन्। चलचित्र विकास बोर्ड जहिले पनि ९ वटा पिल्लरमा उभिएको छ। यो कुर्सिमा बस्दा सरकारले नियुक्त गरेको भएपनि ९ वटा पिल्लरबाट आएका मानिस भएको हुनाले उनीहरूले आफ्नो सोच उज्यालो नबनाएसम्म चलचित्र उद्योगको राम्रो विकास हुँदैन। सरकारलाई हाम्रो कुरा मनाउनको लागि यो कुर्सीमा बस्ने एक जनाले मात्र सक्दैन। स्टेक होल्डरहरुका सबै समस्या समाधान प्रयासहरू गर्छु।’
अध्यक्ष डिसीले अब स्वदेशी चलचित्रकर्मीहरु आफैमा रजिस्टर हुने व्यवस्था गर्नका साथै उनीहरुको मृत्यु भएको अवस्थामा एउटा निश्चित रकम चलचित्र विकास बोर्डबाट सिँधै त्यही ठाउँमा जाने व्यवस्था दसैँपछि सुरु गर्ने जानकारी गराए।
उनले भने,‘स्वदेशी चलचित्रकर्मीहरु आफैमा रजिस्टर हुने छन्, सबैको डाटाहरु लिने छ र उनीहरुको मृत्यु भएको अवस्थामा एउटा निश्चित रकम चलचित्र विकास बोर्डबाट सिँधै त्यही ठाउँमा जाने र ६ वटा फोन गर्नुपर्ने, यताउता गर्नुपर्ने अवस्थामा पुर्याउने छु। यो काम दसैँपछि सुरु गर्ने छौँ।’