विश्व हिन्दु महासङ्घले यही भाद्र २८ गते (शुक्रवार) सरकारलाई संविधान संशोधन गरी हिन्दु अधिराज्य पुनस्थापनाका लागि दबाब दिनका लागि र्‍याली निकाल्ने भएको छ। 
बुधवार काठमाडौँमा पत्रका सम्मेलनको आयोजना गरी हाल देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन नसकेको भन्दै सरकारलाई हिन्दु अधिराज्य पुनस्थापनाका लागि दबाब दिन शुक्रवार माइतीघरमा र्‍याली निकाल्न लागेको सङ्घकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिइन्। 
उनले भनिन् ,‘हाल देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन सकेन। अहिले देशमा धार्मिक–सांस्कृतिक अतिक्रमणका समस्याहरू गम्भीर रूपमा बढेर गएका छन्। हालै बनेको सरकारको प्रमुख मुद्दा नै दुई ठुला पार्टीहरू मिलेर संविधान संशोधन गर्ने रहेको छ। यसै सन्दर्भमा विश्व हिन्दु महासङ्घले एक धार्मिक र्यालिको आयोजना गरी हिन्दु ॐकार परिवार एकजुट भई नेपाल सरकारको ध्यानाकर्षण गराई संविधान संशोधन गरी हिन्दु अधिराज्य पुनस्थापनाका लागि दबाब दिने निर्णय गरेका छौँ।’
संविधान जारी हुँदा देखि नै विश्व हिन्दु महासङ्घले धर्म निरपेक्ष संविधानको चर्को विरोध गर्दै आएको छ।