प्रधानमन्त्री केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङ इतिहासले सम्झिरहने पात्र भएको बताएका छन्। 

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा ओलीले संविधान निर्माण गर्न र जारी गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन्।

उनले भने, ‘उहाँले कुर्सीमा मात्र अध्यक्षता गर्नुभएको थिएन। वैचारिक नेतृत्व पनि गर्नुहुन्थ्यो। त्यसैले सुवासचन्द्र नेम्वाङ जी इतिहासले सम्झिरहने पात्र हुन्। उहाँका स्मृति ताजै राख्नका लागि र उहाँको सम्झना÷आदर्श पछ्याएर केहि काम गरिरहनका लागि हामी सुवासचन्द्रका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं।’

साथै, उनले निष्क्रिय रहेका प्रतिष्ठानलाई सक्रिय बनाउने धारणा राखे। माधव नेपाल पुष्पलाल प्रतिष्ठानको अध्यक्ष भएको र प्रतिष्ठान पार्टीलाई छोड्नुपर्नेमा पार्टी फुटाएर जाँदा कब्जा गरेको उल्लेख गरे। उनले भने, ‘पुष्पलाल फुट्नुभएको होइन पार्टी फुटेको हो। माधव नेपालले पार्टी छाडेर जाँदा निजी सम्पत्ति जस्तो गरेर लानुभयो।’

उनले आमजनताले समाजको गति र परिवर्तनलाई पछाडी फर्काउन नसक्ने धारणा राखे।

उनले भने, ‘समाज गतिशिल र प्रगतिशिल छ। कहिले कहिले केहि प्रतिगामी तत्व, असामाजिक तत्व र जनविरोधी तत्वहरुले गर्दा देशको बारेमा नसोच्ने, आफ्नो मात्र सोच्ने अवान्छित क्रियाकलापबाट समाजमा हावी हुन सक्छन्। अगाडि बढिरहेका गतिमा ब्रेक लाग्न सक्छ तर समाजले त्यसलाई हटाइदिन्छन्। यी कहिलेकाही हुने आकस्मिक घटना हुन्।’