अस्पतालहरूमा स्वास्थ्य उपचारका सिलसिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कानुन संशोधनको तयारी गरेको छ। 
यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोस्रो संशोधनको मस्यौदा गरेको मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय माग्दै पत्र पठाएको छ। 
चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूहरूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा माग गर्दै आएका छन्। यसलाई सम्बोधन गर्न गत साउन २७ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो। 
सोही अनुसार कानुन संशोधनको तयारी गर्दै मन्त्रालयले कानुन मन्त्रालयसँग राय मागेको हो। संशोधन प्रस्ताव गरिएको व्यवस्थाले चिकित्सकको सुरक्षामा थप योगदान दिने मन्त्री पौडेलको सचिवालयले जनाएको छ। 
कानुनबाट राय प्राप्त भएपछि विधेयकको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ।