उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग चिनका व्यवसायीहरुले भेट गरेका छन्। विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जन बढी व्यवसायीहरुले नेपालमा लगानीको वातावरणका बिषयमा अन्तरक्रिया गरेका हुन्। 

अन्तरक्रियाका क्रममा चिनियाँ व्यवसायीहरुले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिएका छन्। चिनियाँ व्यवसायीहरुलाई उद्योग मन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरुमा लगानी गर्न आग्रह गरे। 

उनले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनैपनि नितिगत जटिलताहरु नरहेको बताए। चीनमा भैरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेको बताउदैँ नेपालको कृषि, विद्युत, पर्यटन, शिक्षा तथा सुचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे। 

काभ्रेको पाँचखालमा चीनको लगानीमा उद्योग सञ्चालनको तयारी भैइरहेको विषयमा मन्त्री भण्डारीले लगानीकर्तालाई प्रयाप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताए। उनले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनैपनि समयमा आइपर्ने समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरे।

उद्योग मन्त्रालयका सचीव कृष्ण बहादुर रावतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्याहरु नभएकाले उद्योगमा लगानी गर्न आग्रह गरे। उनले नेपालमा कम्पनी दर्ता गर्दा निशुल्क रुपमा अनलाईनबाटै दर्ता प्रक्रिया रहेको बताए।