झापाको बिर्तामोडमा भदौ ५ गतेदेखि दोस्रो जुत्ता चप्पल मेला सञ्चालन हुने भएको छ। 

गत वर्ष आयोजना गरेको मेला अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यसवर्षपनि मेला आयोजना गर्न लागेको हो। बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुने मेलामा नेपालका ५ वटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिने भएको छ। 

बिर्तामोड सिटी सेन्टरले आयोजना गर्ने मेलाको सह–आयोजक बिर्तामोड नेपाली जुत्ता घरको रहने पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ।

‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुने मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनीको २५ वटा स्टल रहने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए।

मेलामा चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध हुने उनले बताए।

एक महिनासम्म  सञ्चालन हुने मेलामा १ लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ। ती कम्पनीको संलग्नतामा भएको मेला यो दोस्रो हो। यसअघि गतबर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो।

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिने तयारी रहेको आयोजकले जनाएको छ। यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिने गरि तयारी गरिरहेको उपाध्यायले जानकारी दिए। खस्कदो व्यवसायलाई केहि हदसम्म उठाउन मेला आयोजना गरिएको सिटी सेन्टरका सञ्चालक दिपेन्द्र राउतले बताए।