क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन तयारी गरेको छ।

आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्दामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ।

जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो।

उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन्।

महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको छ।

यसअघि ११ साउनमा क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने निवेदन उच्च अदालतमा दिएकी थिइन्। तर उनको निवेदनले उक्त मुद्दा नरोकिने भएकाले सर्वोच्चमा पुनरावेदन गर्न लागिएको हो।

गौशाला २६ ले गत जेठ २ गते पाटन उच्च अदालतले सन्दीपलाई सफाइ दिने गरी गरेको फैसालविरुद्ध सर्वोच्च नजाने भन्दै उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी थिइन्।