नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले वीपी कोइरालाको १११ औँ जन्मजयन्ती मनाउने भएको छ। विभागीय प्रमुख डा. डिला सङ्ग्रौलाको अध्यक्षतामा सोमबार बसेको बैठकले वीपी जयन्तीलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो।
विभागले वीपीको जन्म जयन्तीको अवसर पारेर भदौ २५ गते वीपीको समाजवाद र बुद्धिजीवीको भूमिका’ विचार गोष्ठीको आयोजना गर्ने साथै वार्षिक रूपमा गर्ने कार्यतालिका बनाउने निर्णय समेत गरेको कांग्रेस केन्द्रीय सदस्य एवं प्रमुख डा. सङ्ग्रौलाले जानकारी दिइन।
साथै बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गते पनि विशेष अन्तरक्रिया गर्ने जनाएको छ। विभागीय प्रमुखका डा. सङ्ग्रौलालाई जिम्मेवारी दिए लगत्तै कांग्रेस सभापति शेर बहादुर देउवाले विभागमा १० जना सदस्यहरू मनोनयन गरिसकेका छन्।
कुल ४९ सदस्य रहने विभागमा बाँकी सदस्य पछि मनोनयन गरिने विभागीय प्रमुख सङ्ग्रौलाले बताइन्। विभागले गत भदौ ६ गते समाजवादी चिन्तक स्व। प्रदीप गिरीको स्मृतिमा प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।