मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो ४ः३० बजेतिर एकै घरका दुई नाबालिकाको शव फेला परेको छ।
सुन्दरहरैँचा नगरपालिका–७ का नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरूको शव भेटिएको हो। धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आयिका कार्की र १ वर्षीया अर्पणा कार्की मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन्। केराघारीभित्र दुई बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
धनकुटाको पाख्रीबास नगरपालिका–४ डिकुरेका अर्जुन केही समययता श्रीमती र दुई छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार अर्जुनले नजिकै नयाँ घर पनि बनाउँदै थिए। उनीसँग शुक्रबार साँझ पत्नी अस्मिताको विवाद भएको प्रहरीले जनाएको छ।
श्रीमानसँग विवाद भएपछि नाबालिका छोरीहरूलाई लिएर राति ८ः३० बजेतिर अस्मिता हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी बस्नेतले बताए। दुवै नाबालिकाको शव अँगालो मारेको अवस्थामा शनिबार फेला परेको छ।
दिदी आयिकाले बहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो। सम्पर्कविहीन रहेकी आमा अस्मिताको खोजी तीव्र पारिएको डीएसपी बस्नेतले जानकारी दिए। बालिकाको शव फेला परेको स्थाननजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको छ।
घटनाको जानकारी पाउनसाथ थप अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका छन्।
कानुनी प्रक्रिया पुरा गरी घटनास्थलबाट दुवै बालिकाको शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान लगिएको प्रहरीले जनाएको छ। अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।