मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न चार खेलमध्ये तीन खेलमा बराबरी भएको छ भने एउटा खेलमा गोर्खा ब्वाइज विजयी भएको छ।

परेली युवा क्लब र विजय युथ क्लबबीचको खेल १–१ गोलको बराबरी भएको छ। हेटौँडा–६ स्थित गौरीटार रंगशालमा भएको विजय युथ र परेलीबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो। 

परेलीको तर्फबाट प्रविन गोलेले एक गोल गरेका थिए। उनले खेलको ९३ औं मिनेटमा गोल गरे। विजय युथबाट विनिश अमात्यले एक गोल गरे। गौरीटार रंगशालामा भएको दोस्रो खेलमा एफसी इन्टरनेट सिटीलाई ३–१ गोलले हराउँदै गोर्खा ब्वाइज विजयी भएको छ। गोर्खा ब्वाइजबाट अनिल घलान, प्रताप ठोकर र रिहान लामाले समान एक–एक गोल गरे। यता एफसी इन्टरनेट सिटीबाट श्रीजन लामाले मात्र एक गोल गरे।

हेटौँडा–११ स्थित सिमलटार मैदानमा सक्षम युवा क्लब र हेटौंडा भेट्रान्स क्लबबीचको खेल वर्षाको कारणले स्थगित भएको छ। दुबै टिमको खेल गोलरहित बराबरीमा स्थगित भएको हो। 

आरआर एफसी र एफसी इन्टरनेटबीचको खेल पनि १–१ गोलको बराबरीमा रोकिएको छ। सिमलटार मैदानमा भएको खेलमा आरआर एफसीबाट सुदीप सापकोटा र एफसी इन्टरनेटबाट सलोन वाइबाले समान एक–एक गोल गरेको थिए। म्यान अफ द म्याच विजय युथका सरोज राई, एफसी इन्टरनेटका अभिनाष भोम्जन र गोर्खा ब्वाइजका अनिल घलान घोषित भएका छन्।

४ वर्षको अन्तरालमा सञ्चालन भएको जिल्ला लिगको प्रत्येक समूहको वरियताक्रमको आधारमा क्लबलाई ए, बी र सी डिभिजनमा छुट्याइने बताइएको छ। कोरोनाको कारण सञ्चालन हुन नसकेको लिग प्रतियोगिता यस वर्षबाट सञ्चालन गरेर यसलाई निरन्तरता दिन लागेको जनाइएको छ।

जिल्ला लिग फुटबल प्रतिायोगिताको उपाधि विजेता टिमले असोज बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउनेछ। प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले पचास हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। 

यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ।