सामाजिक सुरक्षा कोषमा योगदान रकम वृद्धि भएको छ। सूचीकृत योगदानकर्ताको संख्या पनि बढेको कोषको तथ्याङ्कले देखाउँछ।
कोषको खातामा योगदान रकमबापत ६३ अर्ब ५६ करोड १८ लाख रुपैयाँ संकलन भएको छ भने १५ लाख ८६ हजार पाँच सय ५५ जना योगदानकर्ता कोषमा सूचीकृत भएको देखिन्छ।
पछिल्लो तीन सातामा छ अर्ब ३७ लाख रुपैयाँ योगदान रकम थपिएपछि योगदान रकम बृद्धि भएको कोषको वेभसाइटमा उल्लेख भएको तथ्यांकले देखाउँछ।
२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो। पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुन पुगेको हो।
कोषमा सूचीकृत रोजगारदाताको संख्या १९ हजार चार सय ९० छ। कोषले हालसम्म १० अर्ब ५९ करोड ४१ लाख रुपैयाँँ दाबी भुक्तानी गरेको जनाएको छ। कोषले अहिले पनि रोजगारदाता, योगदानकर्ता सूचीकृत गर्दै आएको छ ।
औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोषमा रकम र आवद्धता बढेको पाइएको हो।