कलंकीका सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहोर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ।
काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहोरको व्यवस्थापनमा चरम लापरवाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिएका छन्।
‘वार्डहरुबाट उत्पादन भएको फोहोर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ। टहरामा चारवटा कोठा छन्। तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरु छरपस्ट थिए। दोस्रो कोठाको कुनामा कालो प्लाष्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो। तेस्रो कोठामा धेरै फोहोरका पोका थिए,’ महर्जनले भने।
फोहोर खुला रुपमा छरिएको, पिपिइ (व्यक्तिगत सुरक्षा पोशाक), हातमा पञ्जा, खुट्टामा बुट, टाउको छोप्ने टोपी पनि प्रयोग नगरिएको पाइएको छ।
अटोक्लेभ मेसिन गएको वर्षको अनुगमन हुँदा अस्पतालले विग्रिएको जानकारी दिएको थियो। त्यसबेला तत्काल बनाएर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइएको थियो। २०८० फागुनमा जोखिमपूर्ण फोहोर निर्मलीकरण गरेर व्यवस्थापन गर्ने प्रतिवद्धता थियो।
चैत १० गते गरिएको अनुगमनमा सुधार नदेखिएको, अस्पतालले प्रतिवद्धता दोहोर्याएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो। चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहोर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन सम्बन्धी एक दिने तालिम प्रदान गरिएको भए पनि सुधार नभएको बताइन्छ।
सोमबारको अनुगमनमा गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहोरको पोकोले पुरिएको, अनुगमनका क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले, हस्पिटलले संक्रमित फोहोर व्यवस्थापनमा चरम लापरवाही गरेको प्रतिक्रिया दिइन।
फोहर संकलन गर्ने ठाउँ नजिकै हस्पिटलमा आउने आगन्तुकलाई सवारी साधन पार्किङ् गर्ने ठाउँ बनाइएको छ। जस्ता पाताको तल्लो भागबाट मुसाहरु सजिलै आवतजावत गर्न सक्ने ठाउँ छ। यसबाट वातावरणीय तथा मानव स्वास्थ्यजन्य जोखिम बढेको टोलीको निष्कर्ष छ।
सोमबार नै कलंकीमा भएको सहिद मेमोरियल अस्पतालको पनि अनुगमन गरिएको थियो।
उक्त अस्पतालले भने गएको वर्षमा भन्दा धेरै सुधार गरेको पाइएको छ। सानो अँध्यारो कुनामा भएको अटोक्लेभ मेसिनलाई फराकिलो कोठामा ल्याइएको, मेसिनको संख्या थप गरेको, छतमा राखिने फोहोर संकलनका लागि छुट्टाछुट्टै कक्ष भएको कोठा बनाइएको पाइएको छु।
अनुगमन टोलीले स्रोतमा प्रकृति छुट्याउने, अभिलेख राख्ने व्यवस्था दुरुस्त बनाउने, संक्रमित र सामान्य फोहर नमिसिने व्यवस्था मिलाउनेलगायत सुझाव दिएको छ।
अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो।
गएको वर्ष महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालनमा रहेका ५० वटा अस्पतालहरुको फोहोर व्यवस्थापन अवस्था अनुगमन गरिएको थियो । यस क्रममा गलत अभ्यास भएका २० वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको थियो।
फोहोरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु गएको वर्षको अनुगमनका क्रममा देखिएका साझा समस्या थिए।