प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरीको इतिहास, परम्परा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, संरक्षण र जगेर्ना गर्ने कार्यमा नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी स्रष्टा एवम् कलाकारहरूले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको बताएका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधवार आयोजित प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन्। 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यको साथै साहित्य, कला, खेलकुद र सामाजिक सेवा जस्ता क्षेत्रमा विभिन्न भूमिकामा रहेर नेपाल प्रहरीले अतुलनीय योगदान गर्दै आइरहेको चर्चा गरे । 

विगतमा नेपाल प्रहरीको सदस्यको हैसियतले अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै अवकाश प्राप्त जीवनमा साहित्य लेखन, कला र संस्कृतिको माध्यमबाट समाजलाई सकारात्मक दिशातर्फ निर्देशित गर्नुपर्ने विचार उनले व्यक्त गरे ।

DSC_6420

प्रहरी महानिरीक्षक कुँवरले भेटघाट कार्यक्रमले बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूबिचको सहकार्य, समन्वय र एकता थप मजबुत हुने धारणा व्यक्त गरे । अपराध रोकथाम, विपद् उद्धार, शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीको शाखा र प्रतिष्ठालाई जीवन्त राख्न बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले जसरी उल्लेखनीय भूमिका निर्वाह गरिरहनु भएको छ त्यसरी नै आगामी दिनमा समेत साहित्य र कलाको माध्यमबाट नेपाल प्रहरीको प्रतिष्ठामा थप श्रीवृद्धि गर्नुहुनेछ भन्ने विश्वास लिएको उनले बताए । 

सो अवसरमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले कार्यक्रममा सहभागी भएका प्रहरी सेवाबाट अवकाश प्राप्त सर्जक तथा कलाकारहरूलाई सम्मान समेत गरे ।  उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले पूर्वजहरूले गरेका राम्रा कामलाई अझ राम्रो गर्दै जाने, नसके त्यसलाई मर्न नदिने प्रण गरिएको बताए । यस्ता कामलाई निरन्तरता दिन, रचना सिर्जना संरक्षण गर्न र कल्याणकारी कार्य गर्नेबारे विचार विमर्श भइरहेको उनले उल्लेख गरे । 

कार्यक्रममा धन्यवाद व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल प्रहरीका सर्जक र कलाकारहरूको सिर्जनाबाट जनसम्पर्क स्थापित गर्न र प्रहरी कार्यमा सहयोग पुर्‍याउन सहजता ल्याएको चर्चा गरे । साहित्य, कला र सङ्गीतमार्फत प्रहरीका सर्जक तथा कलाकारहरूले प्रहरी सङ्गठन, समाज र राष्ट्रलाई विशेष योगदान दिइरहेको उनले उल्लेख गरे ।

अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले आजको भेटघाट विशिष्ट भेटघाट भएको उल्लेख गर्दै संस्थागत रूपमा कार्यक्रम आयोजना गरेकोमा प्रहरी सङ्गठनप्रति विशेष आभार व्यक्त गरे । यस्ता कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास उनले व्यक्त गरे ।  

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत नेपाल प्रहरीका बहालवाला तथा पूर्व प्रहरी सर्जकहरू एवम् नेपाल पूर्व प्रहरी कलाकार सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबिच प्रहरी सेवा र सिर्जनाबारे छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।