उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन् । 
मङ्गलवार काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले मन्त्रालयले सहरी विकास र पूर्वाधार निर्माणको काम सहर र ग्रामीण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताए । 
उपत्यकाका बागमती, विष्णुमतीलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उनको भनाई थियो।
‘जसरी चलिरहेको छ त्यसैगरि चलाऊँ भनेर हुँदैन ।  सुधारका लागि  काम गर्न प्रयास गरिरहेको छु । त्यसमा केही समय लाग्छ,’ उनले भने, ‘संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउन सक्नुपर्छ ।’ अहिलेको सरकारलाई काम नगर्ने छुट नभएको भन्दै उनले सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने बताए ।
देशभर सुरक्षित र व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले काम गरिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताए । काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति सहरी विकास मन्त्रालय अन्तर्गत रहेको भन्दै राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदी प्रणाली सुधार्ने काम प्राथमिकताका साथ अघि बढिरहेको उनले बताए ।
उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गरे। जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरू, आइडियाहरू, नदीनालाहरूको सुधार गर्नेदेखि लिएर, काठमाडौँ उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’