वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रको प्रभावकारी विकासको लागि ऐन कानुनहरु बाधकको रुपमा रहेको भन्दै त्यसलाई संशोधन गर्न आवश्यक रहेको बताएका छन्। 

शुक्रबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सरकारको नीति तथा कार्यक्रममा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयन अवस्था र उपलब्धीहरुका सम्बन्धमा मन्त्रालयसँग छलफलमा उनले बाधक भएका र समस्याका रुपमा पहिचान गरेका केही ऐनहरुलाई संशोधन गरेर आगामी दिनमा सहज रुपमा लैजाने प्रतिबद्धता जनाए। 

उनले भने, ‘वन मन्त्रालयको विकासको बाधक वा वनसँग जोडिएका कानुनहरु छन्, ऐनहरु र नियमावली छन्। तर बाधक भएका र समस्याका रुपमा पहिचान गरेका केही ऐनहरुलाई संशोधन गर्नु जरुरी छ।’

उनले विकास पनि गर्नुपर्ने र वनलाई पनि जोगाउनुपर्ने कर्तव्य रहेकाले दुइवटा कुरालाई सँग-सँगै लैजानका लागि धेरै जटिल रहेको धारणा राखे। विकास र वनको संरक्षणलाई सँगै लैजान केही ऐनहरु र नियमावली संशोधन गर्ने र नयाँ कानुनहरुको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।