सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सुशासनको अभाव र ठिक ढङ्गले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताएका छन्। 

शुक्रबार काठमाडौँमा राष्ट्रिय समाचार समितिको ‘रासस मिडिया संग्रहालय’ शुभारम्भ गर्दै उनले भ्रष्टाचारहरु भइरहने, बिचौलियाको प्रभाव बढिरहने र जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न मिडियाको ठूलो भूमिका रहने बताए। 

उनले भने,‘सुशासनको अभावका कारणले भनौँ अर्थात ठिक ढङ्गले काम नसक्दा भ्रष्टाचार बढिरहेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको दायित्व हो। भ्रष्टाचारहरु भइरहने, बिचौलियाको बिगबिगी भइराख्ने जनताको चाँही आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति छ। यस्तो परिस्थितिबाट मुक्त हुनको लागि मिडियाको ठूलो भूमिका छ।’

उनले बजेटको ३० प्रतिशत विकास बजेट छुट्याए पनि १५ प्रतिशत मात्रै खर्च भएको भन्दै त्यसले देश बन्न नसक्ने बताए। उनले पत्रकारको काम सरकारको आचोचना मात्र गर्ने नभएर आलोचनासँगै सत्य तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न सुझाव दिए।